नयाँ सरकारले माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने आफ्नो प्राथमिकता

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २४ २०७४
  • तामाकोसी खबर

काठमाडौं, जेठ २४ । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएको छ ।

प्रधानमन्त्री पदमा सपथ लिएपछि देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री छन् ।



बुधबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नयाँ सरकारको प्राथमिकता तोकेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा परेको छ । साथै दोस्रो चरणको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्ने, माघ ७ भित्र तीनवटै चुनाव सम्पन्न गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाइनेछ ।

यस्तै नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ग्रामीण तहका नगरिकलाई अर्थतन्त्र सुधार भएको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्कीले इतिहासले सम्झने गरि आर्थिक सुधारका काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । अर्थमन्त्रालयमा बुधबार भएको स्वागत कार्यक्रममा अर्थमन्त्री कार्कीले आयात निर्यातको सन्तुलन मिलाएर व्यापार घाटा कम गर्नुपर्ने बताउनुभयो ।