रामेछापका ६४ जना संक्रमितले कोरोनालाई जितेँ, ८५ जनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: मंगलबार, असोज २० २०७७
  • तामाकोशी

रामेछाप । असोज २० गते,
रामेछापमा विभिन्न समयमा कोरोना संक्रमित भएका ६४ जनाले कोरोनालाई जितेका छन् । जिल्लाबाटै स्वाब संकलन गरिएका र संक्रमण भएका ८१ जनामध्ये मंगलबारसम्म ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दुईजना , प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा एकजना ,मन्थली नगरपालिकामा दुईजना , रामेछाप नगरपालिकामा तीनजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा चारजना गरि १७ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५३३ , रामेछाप नगरपालिकामा १८९ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ६२६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ८५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ९ जना महिला र २१ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २४ जना र ७३ जना पुरुष गरि ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।