हुँदैन हप्तौंसम्म कन्ट्याक्ट ट्रेसिङ

  • प्रकाशित मिति: सोमबार, भाद्र १५ २०७७
  • तामाकोशी

काठमाडौँ, भदौ १५ गते। काठमाडौंको डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।
परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो, संक्रमितकी छोरीले भनिन्, दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे । संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन ।
ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्, उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् । वडामा फोन गर्दा अहिल्यै आउँछौं भन्छन् । तर, कोही आउँदैनन् । कहिलेसम्म हामी डरैडरमा घरभित्र थुनिएर बस्ने हो ?
काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भइराख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन । अनि कुपन्डोलस्थित विध ल्याबमा जनही ४५ सय तिरेर आफैं परीक्षण गरायौं, ती पुरुषले भने । यो खबर कान्तिपुर दैनिकमा छ ।