रामेछाप । भदौ ५ गते,
रामेछापमा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएका ३३ जना मध्ये ३१ जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जम्मा संक्रमित मध्ये अब मन्थली नगरपालिकाको आइसोलेशनमा २ जनाको उपचार भैरहेको उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयको प्रेस विज्ञप्ति अनुसार जिल्लामा पीसीआर रिपोर्ट आउन बाँकि १ सय ३३ जनाको रिपोर्ट भने शुक्रबार पनि आएको छैन । विभिन्न समयमा गरी स्वाब पठाइएका १ सय ३३ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको भन्दै जिल्लाभर त्रास बढेको छ । अहिले रामेछाप जिल्लाबासी मन्थली नगरपालिकाभित्रका ७९ जना सहित १ सय ३३ जनाको रिपोर्टको प्रतिक्षामा छन् । जिल्लामा अहिलेसम्म ८ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्ला अस्पतालमा ५० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय १८ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार २ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १ सय ३३ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका ३१ जना कोरोना मुक्त, १३३ जनाको रिपोर्ट अझै आएन
- प्रकाशित मिति: शुक्रबार, भाद्र ५ २०७७
- तामाकोशी