नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो , संक्रमणबाट १२६ जनाको मृत्यु

  • प्रकाशित मिति: बिहिबार, भाद्र ४ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ ४ गते,
नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिुभयो । बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् । जसमा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ भने ११ हजार ५ सय ५५ जना आइसोलेसनमा रहेका छन् ।