रामेछापमा कोरोना परीक्षणको दायरा : दैनिक एक सय बढी स्वाब संकलन

  • प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
  • तामाकोशी

रामेछाप । साउन २८ गते,
रामेछापमा पछिल्लो केहिदिन यता कोरोना परीक्षणको दायरा बढाइएको छ । साउन २३ गते बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले जिल्लामा कोरोना परीक्षणको दायरा बढाउने लगाएतका १७ वँुदे निर्णहरु गरेको थियो । सोहि निर्णय अनुसार अहिले जिल्लामा पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि दैनिक एकसय बढी व्यक्तिहरुको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना परीक्षणका लागि मंगलबार एक सय एक जना र बुधबार थप एक सय ४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले जानकारी दिनुभयो ।
उहाँले बुधबार मन्थली स्थित तामाकोशी अस्पतालबाट ४९ गोकुलगंगा गाउँपालिकाबाट २३ जना , दोरम्बा गाउँपालिकाबाट ४ जना र सुनापति गाउँपालिकाबाट २८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताउनुभयो । जिल्लामा यसअघि पीसीआर विधिबाट ६ सय ५० जनाको कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको थियो । यसमध्ये विभिन्न समयमा गरि ३१ जनामा संक्रमण पुष्टि भएको र ६ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाका ५ जना , दोरम्बा गाउँपालिकाका १ जना र सुनापति गाउँपालिकाका २ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुरा अब मंगलबार र बुधबार स्वाब संकलन गरिएका २ सय ५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ९ जना महिला र ४८ जना पुरुष गरि ५७ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ५३ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।