रामेछाप । साउन १९ गते,
रामेछापमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्थानीय प्रशासनले गरेको आग्रह नमान्ने १ सय ६१ जना कारवाहीमा परेका छन् । लकडाउन खुलेपनि कोरोना संक्रमणको जोखिमता कायमै रहेको भन्दै स्थानीय प्रशासनले गरेको आग्रहलाई बेवास्ता गरि मास्क नलगाई हिड्नेलाई प्रशासनको निर्देशन अनुसार एक सय रुपैयाँ दण्ड जरिगरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख रामेछापका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताउनुभयो । उहाँले साउन १५ गते यता विना मास्क हिड्डुल गर्ने १ सय ६१ जना भन्दा बढीलाई प्रतिव्यक्ति एकसय रुपैयाँका दरले १६ हजार एक सय जरिवाना गरिएको बताउनुभयो । जिल्लामा कोरोना परीक्षणका लागि हालसम्म ५ सय ९४ जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनाको रिपोर्ट आउन बाँकि छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा ५ सय ५५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ८ जना महिला र ५४ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमित चार जनामध्ये मन्थली नगरपालिकाको आइसोलेशनमा एक जना ,दोरम्बा गाउँपालिकाको आइसोलेशनमा एक जना र सुनापति गाउँपालिकाको आइसोलेशमा २ जनाको उपचार भैरहेको छ ।
रामेछापमा मास्क नलगाई हिड्ने १ सय ६१ जना कारवाहीमा
- प्रकाशित मिति: सोमबार, साउन १९ २०७७
- तामाकोशी