विराटनगर । साउन ११ गते,
विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर( ६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर( ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो । बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन ।
शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन । शनिबार पुष्टि भएका मध्ये दुईजना विराटनगर( ६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् । विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो घटनाक्रमले कोरोना संक्रमण समुदायस्तरमा पुगेको बताएका छन् । शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम बैठकमा उनले समुदायस्तरमा कोरोना पुगेको बताएका हुन् । सतर्कता नअपनाएको अवस्थामा जोखिम झन् बढ्ने जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बा बताउँछन् । सरसफाइ र सतर्कतामा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ । समुदायस्तरमा कोरोना फैलिए पुनः लकडाउन गर्नुपर्ने हुनसक्ने उनले बताए ।
समुदायस्तरमा कोरोना संक्रमण फैलियो
- प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
- तामाकोशी