रामेछाप । जेठ १८ गते,
रामेछापमा हालसम्म ४७ जनाको पीसीआर र ८ सय २१ जनाको आरडिटी विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । पीसीआर र आरडिटी परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिले जिल्लामा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडाहरुमा भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढेको हो । २०७७ जेठ १७ गते शनिबारसम्मको जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तथ्यांकलाई हेर्दा जिल्लाको विभिन्न पालिकाहरुको क्क्वारेन्टिनमा १ सय ७० जना बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लाको ८ वटै स्थानीय तहमा गरी जम्मा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष निर्माण गरीएको छ ।
भारत लगाएतका ठाउँहरुबाट यसरीनै आफ्नो गाउँ पर्कने मानिसहरु बढ्दै गए जिल्लामा बाहिरबाट आउँने मानिसलाई राख्ने क्वारेन्टिन र आइसोलेशन कक्षकै अभाव हुने देखिएको छ । यसैलाई मध्यनजर गरी २०७७ जेठ १३ गते सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्र रामेछापको बैठकले जिल्लामा अबको एक हप्तामा आठसय बेडको क्वारेन्टिन कक्ष स्थापना गर्ने निर्णय गरेको थियो । र सोहि निर्णय अनुसार जिल्लाका सबै पालिकाहरुलाई आग्रह पनि गरिएको थियो । तर २०७७ जेठ १७ गते शनिबार सम्मको जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तथ्यांक अनुसार कुनै पनि पालिकामा आइसोलशन तथा क्वारेन्टिन कक्ष थपिएको छैन । अहिले संकट व्यवस्थापन केन्द्रको निर्णय कार्यान्वयनमा ल्याउन स्थानीय सरकार आलटाल गरिरहेको देखिन्छ । अझ कति स्थानीय तहका प्रमुखहरुलेनै जिल्ला प्रशासनले आवश्यक समन्वयनै नगरी निर्णय गर्ने गरेको भन्दै गुनासो गर्ने र कार्यान्वयनमा समस्या हुने बताउदै आएका छन् ।
कोरोना भाइरस रोकथामका लागि जिल्लामा भएका काम खासै प्रभावकारी नभएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक एवं अधिवक्ता पाण्डव प्रसाद प्रसाई बताउँछन् । अहिलेको संक्रमणकालिन समयमा सबै एक भएर काम गर्नुपर्ने बेलामा कहि कतै प्रशासन र स्थानीय तहविचको समन्वय र सहकार्यकै अभावमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएको उनको भनाई छ । उनी भन्छन् देशमा दैनिक रुपमा झण्डै दुईसयको हाराहारीमा संक्रमितको संख्या बढीरहेको अवस्थामा रामेछापका स्थानीय सरकार गम्भीर छैनन, केहि स्थानीय तहले राम्रो काम गरेको पनि देखिएको छ तर जिल्लमा भैरहेको अन्य गतिविधिले गर्दा उनीहरुमा पनि नैराश्यता बढीरहेको छ । तामाकोशी अनलाइनसंग कुरा गर्दै मानवअधिकारको अवस्था अनुगमनका लागि बनेको समितिका सदस्य समेत रहेका प्रसाइले आफुनो स्थानीय तहमा आवश्यक आइसोलेशन र क्वारेन्टिन कक्ष बनाउँनुपर्छ , आफ्नो नागरिकलाई आफैले व्यवस्थापन गर्नुपर्छ , कोरोनाबाट आफु पनि बच्नुपर्छ र अरुलाई पनि बचाउनु पर्छ भन्ने चाहाना जिल्लाका स्थानीय सरकारको खासै नभएको बताए । अहिलेको संक्रमणकालिन यो समयलाई खेर जान नदिई सबै पालिकाको वडा तहमा आवश्यकताको आधारमा सरकारको मापडण्ड अनुसारको व्यवस्थित क्वारेन्टिन कक्ष ,पालिका तहमा आइसोलशन कक्ष र स्वाब संकलन बुथको व्यवस्थापन तत्काल गर्नुपर्ने उनको सुझाब छ । कोरोना भाइरस रोकथामका लागि संकट व्यवस्थापन केन्द्र रामेछापले गर्ने निर्णयलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनका लागि सरोकारवालाबिच आवश्यक समन्यलाई जोड दिनपर्ने उनको सुझाव छ । प्रशासन र स्थानीय सरकारबिचको समन्वयको अभाव र टकराबका कारण अहिलेको जटिल अवस्थामा गर्नुपर्ने र हुनुपर्ने कुनै पनि काम रोकावट हुन नहुने प्रसाईको सुझाव छ ।
समन्वयको अभाव र टकरावका कारण कुनै पनि काम रोकिनु हुन्न : पाण्डव प्रसाई
- प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
- तामाकोशी