रामेछाप जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी रहेको खुलासा

  • प्रकाशित मिति: बिहिबार, असार ४ २०८३
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला अदालतमा चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ।
जिल्ला अदालत रामेछापले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले चालु आर्थिक वर्षमा सम्बन्धविच्छेद सम्बन्धी १७६ थान मुद्दा दर्ता भएको जानकारी दिनुभयो। तीमध्ये ११५ थान मुद्दाको फैसला भइसकेको उहाँले बताउनुभयो।उहाँका अनुसार चालु आर्थिक वर्षमा अदालतमा विभिन्न प्रकृतिका ३०६ थान नयाँ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १०९ थान मुद्दासमेत रहेका छन्। यस अवधिमा देवानीतर्फ २०५ र फौजदारीतर्फ ५८ गरी कुल २६३ थान मुद्दाको फैसला भएको छ।

अदालतको वार्षिक कार्ययोजनाअनुसार ३२३ थान मुद्दा फैसला गर्ने लक्ष्य रहेकामा हालसम्म २६३ थान मुद्दा टुङ्ग्याएर ८१.४१ प्रतिशत प्रगति हासिल भएको जिल्ला न्यायाधीश नेपालले जानकारी दिनुभयो।



कार्यक्रममा उहाँले जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिको कामकारबाही प्रभावकारी रहेको बताउनुभयो। विभिन्न स्थानीय तहको अनुगमनका क्रममा न्यायिक समितिले विवाद समाधान तथा न्याय सम्पादनमा सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गरेको पाइएको उहाँको भनाइ थियो। न्यायिक समितिहरू सक्रिय हुँदा स्थानीय स्तरमै धेरै विवाद समाधान हुने र अदालतमा पर्ने मुद्दाको चाप कम गर्न समेत सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो।

पत्रकार भेटघाट कार्यक्रममा अदालतले न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने प्रयासलाई निरन्तरता दिइएको जानकारी दिएको छ। साथै न्यायमा नागरिकको पहुँच विस्तार र छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।