काठमाडौं । कार्तिक २ गते,
बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश नम्बर–३ सरकार आफैंले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौंडा–काठमाडौंलाई सुरुङमार्गमार्फत् जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाकोरुपमा अगाडि सारेको भएपनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन । तर, यस वर्ष भने कानुनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँगसमेत सहकार्य गर्नेगरी काम सुरु गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतकाअनुसार आगामी तीन महिनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ । तीन वर्ष्भित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि रु १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीहरुसमेत सुरुङमार्ग निर्माणको पक्षमा छन् । प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री पौडेलले राससलाई जानकारी दिए । प्रदेश नम्बर–३ को अस्थायी राजधानी हेटौंडा र देशकै राजधानी काठमाडौंलाई सहज ढंगले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ । नेपालको दीर्घकालीन विकासको कोसेढुंगा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनी बताउँछन् । उनकाअनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ । हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौंडा–भीमफेदी सडक र सिस्नेरी–काठमाडौंलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए । सुरुङमार्ग निर्माणपछि हेटौंडा–काठमाडौंको झन्झटिलो र घन्टौंको यात्रा समय घटेर एक घन्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौंसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने उनको विश्वास छ ।
बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश–३ सरकार आफैंले निर्माण गर्ने
- प्रकाशित मिति: शनिबार, कार्तिक २ २०७६
- तामाकोशी