मन्थली । नेपाली कांग्रेसका नेता निरोज खड्काले पार्टीको आगामी जिल्ला अधिवेशनमा रामेछाप जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेस रामेछाप क्षेत्र नं. १ का सभापतिसमेत रहनुभएका खड्काले १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएलगत्तै जिल्ला सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो।
खुलातर्फका १० पदका लागि भएको प्रतिस्पर्धामा लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका खड्काले आगामी जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभयो। उहाँले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभएको छ।
“मलाई विश्वास गरेर मत दिनुहुने सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दछु। आगामी जिल्ला अधिवेशनमा जिल्ला सभापति पदमा मेरो उम्मेदवारी रहनेछ,” खड्काले भन्नुभयो।
रामेछाप कांग्रेसमा लामो समयदेखि सक्रिय खड्का विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठनमा खारिँदै आउनुभएका युवा नेताका रूपमा परिचित हुनुहुन्छ। पार्टीको पुरानो पुस्तादेखि युवापुस्तासम्म समन्वय गर्न सक्ने नेताका रूपमा उहाँलाई कांग्रेसभित्र चिनिने गरिएको छ।
क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका खड्काको जिल्ला सभापतिमा उम्मेदवारी घोषणासँगै आगामी जिल्ला अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।