मन्थली। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट जनजाति महिलातर्फ प्रदेश प्रतिनिधिमा कलाकार कल्पना सुनुवार निर्विरोध निर्वाचित हुनुभएको छ।
प्रदेश प्रतिनिधिका लागि तोकिएको समयभित्र उहाँको पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि सुनुवार सर्वसम्मत निर्वाचित हुनुभएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रामेछापकी जिल्ला अध्यक्ष तथा रामेछाप सास्कृतिक कलाकार समाजकी उपाध्यक्षसमेत रहनुभएकी सुनुवार लामो समयदेखि कला, संस्कृति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।
निर्विरोध निर्वाचित भएपछि सुनुवारले प्रदेश तहमा जनजाति, महिला तथा कला–संस्कृतिसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको निर्विरोध चयनसँगै रामेछापको राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ पुस्ता र कला क्षेत्रको सहभागिताबारे सकारात्मक चर्चा सुरु भएको छ।