रामेछाप । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टी एकपटक ठूलो षड्यन्त्रमा फसे पनि त्यसबाट महत्वपूर्ण पाठ सिकेको बताउनुभएको छ। उहाँले आगामी दिनमा त्यस्ता षड्यन्त्रमा पार्टी कहिल्यै नफस्ने ठोकुवा गर्नुभयो।
शुक्रबार रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टी जिल्ला समितिको पुनर्गठन तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी स्थापनादेखि नै विभिन्न षड्यन्त्र हुँदै आएको दाबी गर्नुभयो। ती अनुभवबाट पार्टी थप सचेत र सुदृढ बनेको उहाँको भनाइ थियो।
उहाँले अब उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गर्नुभयो। पुराना दलबाट केही भएन भन्दै विकल्पका रूपमा आएका नयाँ भनिएका राजनीतिक शक्तिहरूले समेत पछिल्लो करिब छ महिनाको अवधिमा देशको नेतृत्व गर्दा जनतामा झनै निराशा र अन्योल देखिएको उहाँले टिप्पणी गर्नुभयो।
अध्यक्ष घिसिङले रामेछापलाई पार्टीको आधारस्तम्भका रूपमा लिएर देश विकासको मोडालिटी नै परिवर्तन गर्ने योजना रहेको बताउनुभयो। आफू जन्मेको जिल्लाबाट पाएको माया र समर्थनप्रति आभार व्यक्त गर्दै उहाँले पार्टीको विस्तारित योजनाको उद्घोष रामेछापबाटै गरिएको बताउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो। कार्यक्रममा केन्द्रीय सचिवद्वय केदार खड्का र नरबहादुर कार्की, केन्द्रीय सदस्यहरू तथा बागमती प्रदेश अध्यक्ष प्रविनकुमार बललगायत नेता–कार्यकर्ताको उपस्थिति थियो।
यसैबीच, उज्यालो नेपाल पार्टी रामेछापको नयाँ जिल्ला अध्यक्षमा चिना लामा सर्वसम्मत चयन हुनुभएको छ। मन्थलीमा अध्यक्ष घिसिङको उपस्थितिमा सम्पन्न पुनर्गठनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहित ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत घोषणा गरिएको हो।
नयाँ जिल्ला कमिटीको उपाध्यक्षमा दामोदर तामाङ, सचिवमा मोतिलाल घिसिङ, उपसचिवमा सागर थापा, अर्जुन घिसिङ र तेन्जिङ लामा तथा कोषाध्यक्षमा देव रुम्बा चयन हुनुभएको छ।