चर्चित कलाकार प्रकाश कटुवाल अब राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

  • प्रकाशित मिति: शनिबार, असोज १० २०८३
  • तामाकोशी

रामेछाप । नेपाली लोक तथा दोहोरी संगीतका चर्चित कलाकार प्रकाश कटुवाल अब साङ्गीतिक मञ्चसँगै राजनीतिक मञ्चमा पनि सक्रिय हुने तयारीमा छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कटुवालले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारी गरेका हुन्।
‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्क्यो’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’ र ‘छेकन जामाले’ लगायतका चर्चित गीतमार्फत नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका कटुवाल अहिले राजनीतिमा सक्रिय हुन थालेका हुन्।
रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका कटुवालले आगामी अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि रामेछापबाट खुला उम्मेदवारी दिने तयारी गरेका छन्। रामेछापमा हुने अधिवेशनलाई लक्षित गर्दै उनी कार्यकर्ता तथा समर्थकसँगको भेटघाटमा सक्रिय छन्।
कटुवालले नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्व, विचार र कार्यशैलीबाट प्रभावित भएर आफू सक्रिय राजनीतिमा आउन प्रेरित भएको बताएका छन्। कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्व स्थापित भएपछि आफूलाई पनि पार्टीको सक्रिय राजनीतिमा जोडिने थप ऊर्जा मिलेको उनको भनाइ छ।
‘गगन थापाजस्तो युवा नेतृत्वको सोच र पार्टीलाई एकताबद्ध बनाउने उहाँको कार्यशैलीले मलाई कांग्रेसको राजनीतिमा लाग्न ऊर्जा दियो,’ कटुवालले भने, ‘आज म गर्वका साथ राजनीतिमा होमिएको छु भने त्यसको पछाडि गगन दाइको विचार र उहाँले देखाएको बाटोको ठूलो भूमिका छ।’
कलाकारिताबाट बनाएको आफ्नो सामाजिक पहिचानलाई राजनीतिक यात्रामा पनि जनसेवामा रूपान्तरण गर्ने लक्ष्य कटुवालको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापको निर्वाचन १२ गते मन्थलीमा तोकिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।