रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि रामेछापमा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले दाबेदारी प्रस्तुत गर्न थालेका छन्। यसक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य सौरभ केसीले युवा कांग्रेस क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।
खाँडादेवी गाउँपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएका केसीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय महाधिवेशनमा सहभागी हुने उद्देश्यले दाबेदारी प्रस्तुत गर्नुभएको हो।
तरुण दलको केन्द्रीय सदस्यका रूपमा पार्टीको संगठनमा सक्रिय रहनुभएका केसीले युवा सहभागिता अभिवृद्धि, संगठन सुदृढीकरण तथा पार्टीमा नयाँ पुस्ताको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्दै दाबेदारी अघि बढाउनुभएको बताउनुभएको छ।
पार्टीको वडा तहको अधिवेशन सम्पन्न भइसकेको रामेछापमा क्षेत्रीय तथा जिल्ला तहका अधिवेशन र प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ। निर्धारित कार्यतालिकाअनुसार असोज १२ र १३ गते रामेछाप जिल्ला अधिवेशन हुने कार्यक्रम रहेको छ।
युवा पुस्ताको सहभागितालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले आफूले युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा दाबेदारी प्रस्तुत गरेको केसीले बताउनुभएको छ।