रामेछाप । कलाकारितामार्फत आफ्नो छुट्टै पहिचान बनाएका रामेछापका कलाकार नरबहादुर पुलामी (नवीन) मगर अब सक्रिय राजनीतिमा होमिएका छन्। केही दिन अगाडि सम्पन्न नेपाली कांग्रेस रामेछाप नगरपालिका–२ नं. वडा कार्यसमितिको सम्मेलनबाट मगर वडा सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
कलाकारितामा लामो समयदेखि सक्रिय मगरले ‘बुटा भर्नु पर्दैन ढाका चोलीलाई’, ‘तिजलाई किन्देको सारी’, ‘प्रदेशी यो छोरा दशैं गीत’, ‘तिम्रै भरमा पर्छु भन्नेले’, ‘जुनी जुनी सयौँ जुनीमा’, ‘बाटो फरक भो’, ‘रूपकी रानी’, ‘ए गामबेँसी सुन’, ‘आयो दशैं’ तथा ‘बाबियोको मै डोरी बातम्ला’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेका छन्।
लोक तथा मौलिक सिर्जनामार्फत दर्शक–श्रोतामाझ परिचित बनेका मगरको राजनीतिक यात्रालाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। कलाकारिताबाट बनाएको सामाजिक सम्बन्ध र अनुभवलाई राजनीतिक भूमिकामा समेत उपयोग गर्दै वडा तहमा संगठन निर्माण र जनसम्बन्धलाई प्राथमिकता दिने उनको अपेक्षा गरिएको छ।
सम्मेलनबाट मिरा पौडेल खत्री र बिनोद कुमार खड्का उपसभापति, ओमबहादुर खत्री सचिव तथा गोकर्ण रोका सह–सचिव चयन भएका छन्। सम्मेलनले अन्य सदस्यहरू समेत चयन गरेको जनाइएको छ।
नवनिर्वाचित सभापति मगरको नेतृत्वमा वडा कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीयस्तरमा कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।