रामेछाप । पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रामेछापका चार पत्रकार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनको चुनावी मैदानमा उत्रिएका छन्। बद्री नयाघरे, ज्ञानु श्रेष्ठ र अनिता थापा मगरले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा रमेश ढुंगेलले प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
पत्रकारितामार्फत सामाजिक, राजनीतिक तथा सार्वजनिक सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका उनीहरू पछिल्लो समय पार्टीको सांगठनिक तथा राजनीतिक भूमिकामा समेत सक्रिय हुन अघि बढेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेर पार्टी संगठनमा पुर्याएको योगदान, राजनीतिक सक्रियता तथा पत्रकारितामार्फत समाजका विभिन्न मुद्दा उठाउँदै आएको भूमिकालाई प्रतिनिधिहरूले मूल्यांकन गर्ने अपेक्षा उम्मेदवारहरूले गरेका छन्।
बद्री नयाघरे र रमेश ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका पूर्व जिल्ला अध्यक्ष हुन्। ज्ञानु श्रेष्ठ प्रेस युनियन रामेछापका निवर्तमान जिल्ला अध्यक्ष हुन् भने अनिता थापा मगर प्रेस युनियनसँगै नेपाल पत्रकार महासंघमा समेत आबद्ध रहदै आएकी छन्।
यसैबीच, रामेछापमा मौसमको प्रतिकूलताका कारण २०८३ असोज १० गतेका लागि तय भएका नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका निर्वाचनसम्बन्धी कार्यक्रम स्थगित गरिएको छ। स्थगित कार्यक्रमहरू असोज १२ गते बिहान ७ बजेदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।