मन्थली नगर अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति हुँदै

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ८ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली नगर अस्पताल अब प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति हुने भएको छ । मन्थली नगर अस्पताललाई बागमती प्रदेश स्तरीय अस्पताल बनाउनका लागि सहमति प्राप्त भइसकेको रामेछापका बागमती प्रदेश सदस्य एवं प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा निर्वाचित भएपछि नेकपा एमाले रामेछापले मङ्गलवार पार्टी कार्यालयमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
बिरामीको अत्यधिक मात्रामा चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउनुपर्ने रामेछापेली जनताको लामो समयदेखिको माग अब चाडै पूरा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘सदरमुकाम मन्थलीमा जुन मन्थली अस्पताल छ । यो अस्पताल अहिले मन्थली नगरपालिकाले सञ्चालन गरिरहेको छ । यो अस्पताललाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्न फाइल उठिसकेको छ । सहमति प्राप्त भइसकेको छ । त्यसले स्वास्थ्य क्षेत्रमा काम गर्न र अगाडी बढ्नका लागि हामीलाई थप हौसला मिल्नेछ ।’’
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा मन्थली अस्पतालले सेवा ग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न विभिन्न सेवाहरूको विस्तार गर्दै लगेको छ । मन्थली अस्पतालले सेवा विस्तार गरेसँगै अस्पतालको सेवा लिने सेवाग्राहीको चाप झन् बढ्दो मात्रामा छ । अस्पतालका प्रमुख डा. समीर क्षेत्रीका अनुसार अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।