रामेछाप । रामेछाप जिल्लामा वर्षे नि कृषि क्षेत्रको विकासका लागि आएका करोडौँ बजेट खर्च हुन नसकेर फ्रिज जाने गरेको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा तत्कालीन कृषि ज्ञान केन्द्र हालको कृषि विकास कार्यालयमा कृषि क्षेत्रका विकासका लागि आएको पाँच करोड भन्दा बढी रकम खर्च हुन नसकेर फ्रिज गएको थियो ।
सदरमुकाम मन्थलीमा रहेको यो कार्यालयले रामेछाप र दोलखा जिल्लामा कृषि क्षेत्रको विकासका लागि आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । यो कार्यालयले गत आर्थिक वर्ष २०७९÷०८० मा १२ करोड ४८ लाख ६६ हजार रुपैयाँ बजेटको जम्मा ५४ दशमलव २० प्रतिशत अर्थात् ६ करोड ७६ लाख ७७ हजार ३७२ रुपैयाँ मात्रै खर्च गरेको थियो । ४५ दशमलव ८० प्रतिशत अर्थात् पाँच करोड ७१ लाख ८८ हजार ६२८ रुपैयाँ बजेट फ्रिज गएको थियो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनाको बजेट खर्चको अवस्थालाई हेर्दा यो कार्यालयले न्यून मात्रामा बजेट खर्च गर्न सकेको छ । यो आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म यो कार्यालयले २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो वर्ष नौ करोड ८८ लाख ९४ हजार रुपैयाँको बजेट बनेकोमा वैशाखसम्म २०.६९ प्रतिशत अर्थात् दुई करोड ४६ लाख एक हजार १६८ रुपैयाँ बजेट खर्च भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘कृषि विकास कार्यालय रामेछापको अहिलेसम्म भएको बजेट खर्चको अवस्था हेर्दा त्यति राम्रो छैन । तर यो कार्यालयबाट सञ्चालन हुने अधिकांश कार्यक्रमहरू जेठ र असारमै बढी बढी सम्पन्न हुन्छन् । त्यसैले अहिले रामेछाप र दोलखा जिल्लामै तीव्र रूपमा कार्यक्रमहरू सञ्चालन भईरहका छन् ।’’
आर्थिक वर्षको दश महिना सकिँदा जम्मा २० प्रतिशत मात्रै बजेट खर्च हुनु राम्रो लक्षण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भूपेन्द्रबहादुर मल्ल बताउनुहुन्छ । उहाँले भन्नुभयो‘‘दश महिनामा जम्मा २०.६९ प्रतिशत मात्रै बजेट खर्च हुनु राम्रो होइन । बनेका कार्यक्रमहरूको समयमै सम्झौता, सञ्चालन र सम्पन्न गर्न कार्यालय जिम्मेवार ढङ्गले लाग्नुपर्ने देखिन्छ ।’’
दश महिनामा कृषि विकास कार्यालय रामेछापको जम्मा २० प्रतिशत बजेट खर्च
- प्रकाशित मिति: आइतबार, जेष्ठ ६ २०८१
- तामाकोशी