रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै १० महिनाको अवधिमा ५५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक २०८०÷८१ को साउन महिनादेखि वैशाख २५ गतेसम्म नगरपालिकाले कुल एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटको ५५ प्रतिशत अर्थात् ५७ करोड ५० लाख २० हजार ६०० रुपैयाँ बजेट खर्च गरेको हो ।
यो अवधिसम्म नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तरगत चालु आर्थिक वर्षका लागि स्वीकृत एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटमा चालू खर्च ६५ प्रतिशत तथा पुँजीगत खर्च ४० प्रतिशत गरी जम्मा ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले बताउनुभयो ।
आइतबार मन्थली नगरपालिका–९ पुरानागाउँमा भएको नगरपालिकाबाट सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्रभावकारिता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकामा यो वर्षका लागि चालुतर्फ विनियोजित ४५ करोड ९३ लाख ९२ हजार बजेटको ६५ प्रतिशत २९ करोड ८६ लाख चार हजार ८०० रुपैयाँ र विकास बजेट पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैयाँ बजेटको ४० प्रतिशत २३ करोड ४४ लाख ४० हजार रुपैयाँ मात्रै खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले चालु आर्थिक वर्षमा नगरपालिकाको चार करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएकोमा वैशाख २५ गतेसम्म लक्ष्यको झन्डै ७४ प्रतिशत तीन करोड १६ लाख ५५ हजार रुपैयाँ आन्तरिक आम्दानी भएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति मार्फत भएको प्रगति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागीहरूले नगरपालिकाले काम गरिरहेको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पशुपालन र खानेपानी क्षेत्रसँग जोडिएर प्रश्नहरू राखेका थिए । नागरिकको प्रश्नको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँ र वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्की, वडा नं ३ का वडा अध्यक्ष कृष्णगोपाल थापा, वडा नं ७ का वडा अध्यक्ष भुवनहरि प्रसाई र वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले जवाफ दिनुभएको थियो । वडा नं ९ का वडा अध्यक्ष गोकर्णराज आरणको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ भएको हो ।