बागमती प्रदेश सरकार मार्फत सञ्चालित रामेछाप सहित ५ अस्पतालमा छैन आइसियु सेवा

  • प्रकाशित मिति: सोमबार, भाद्र ११ २०८०
  • तामाकोशी

रामेछाप । बागमती प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन रहेको रामेछाप जिल्ला अस्पतालमा आइसियु सेवा छैन । रामेछाप अस्पतालमा क्याबिन र विशिष्टीकृत शय्या समेत नरहेकाले सामान्य शय्याबाट उपचार सेवा प्रवाह हुँदै आएको छ । जसका कारण आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीहरूका उपचारमा समस्या हुने गरेको छ । बागमती प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन भएको रामेछाप जिल्ला अस्पताल सहित विभिन्न जिल्लाका पाँच वटा प्रादेशिक अस्पताल आइसियु विहीन रहेका छन् । प्रदेशको पशुपति चौलागाई स्मृति अस्पताल दोलखा, रामेछाप अस्पताल, रसुवा अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल ललितपुर, र टोखा चण्डेश्वरी अस्पताल काठमाडौँमा आइसियु सेवा छैन । प्रदेश सरकार अन्तर्गत रहेका १३ वटामध्ये ८ वटा प्रादेशिक अस्पतालमा मात्र आइसियु सेवा सञ्चालनमा रहेको छ । प्रदेश सरकार मातहतका अस्पतालको कुल ८ सय ७९ शय्या क्षमतामध्ये ४ प्रतिशत मात्र आइसियु, २ प्रतिशत एन आइसियु र ९४ प्रतिशत सामान्य शय्या रहेका छन् । आइसियु सेवा उपलब्ध नभएका अस्पतालमा सामान्य शय्या मात्र रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।