आँखा पाक्ने प्रकोप बढेपछि रामेछापका ५ वटा विद्यालय बन्द

  • प्रकाशित मिति: आइतबार, साउन २८ २०८०
  • तामाकोशी

रामेछाप । आँखा पाक्ने रोगको प्रकोप बढ्न थालेपछि रामेछापका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । जिल्ला सदरमुकाम लगायत जिल्लाका बजार क्षेत्रहरूमा अहिले आँखा पाक्ने रोग प्रकोप कै रूपमा फैलिएको छ । यो रोगको सङ्क्रमण व्यापक रूपमा फैलिएपछि सदरमुकाम मन्थलीमा रहेका सामुदायिक तथा निजी विद्यालयहरूले बिदा दिन दिएका छन् । आँखा पाक्ने रोगको प्रकोपका कारण मन्थली माविले एक साताका लागि पठनपाठन बन्द गरेको छ । आइतबार अध्ययनका लागि विद्यालय पुगेका विद्यार्थीलाई विद्यालय सञ्चालन भएको केही बेरमै बिदा दिइएको छ । मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालका अनुसार विद्यार्थीहरूलाई अब आगामी आइतबार मात्रै विद्यालय आउन भनिएको छ । उहाँका अनुसार एक हजार ३०० विद्यार्थीमा ४ सयभन्दा धेरै छात्रछात्राहरू आँखा पाक्ने रोगबाट ग्रसित भएका छन् । यस्तै मन्थली नगरपालिकामा सञ्चालित निजी विद्यालयले पनि आँखाको पाक्ने रोगको प्रकोपका बढेपछि तीन दिन विद्यालय बिदा दिएका छन् । मन्थली नगरपालिका वडा नं १ मा सञ्चालित लिटिल स्टार इङ्ग्लिस स्कुल, तामाकोसी इङ्ग्लिस बोर्डिङ स्कुल, कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुल र वडा नं ७ मा रहेको नर्मदेश्वर इङ्ग्लिस बोर्डिङ स्कुलले सोमबारदेखि बुधवारसम्म तीन दिन पठन पाठन बन्द गर्ने भएको हो । रामेछाप सर्जिकल आइज सेन्टर मन्थलीमा अहिले दैनिक करिब एक सय जना आँखा पाक्ने रोगका बिरामीहरू आउन थालेका छन् । रामेछाप सर्जिकल आइज सेन्टर मन्थलीका उमेश तामाङका अनुसार यसअघि दैनिक २० जनाको हाराहारीमा मात्र आँखाका बिरामीहरू आउने गरेका थिए । रामेछाप जिल्लामा आँखा सम्बन्धी रोगको उपचार गर्ने पाँच वटा आँखा केन्द्रहरू सञ्चालनमा छन् । जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पतालमा रामेछाप सर्जिकल आइज सेन्टर, मन्थली अस्पतालमा मन्थली सामुदायिक आँखा केन्द्र र जिल्ला अस्पताल रामेछापमा सहरी आँखा केन्द्रले आँखा सम्बन्धी परीक्षण तथा उपचार सेवा दिँदै आएका छन् । त्यसै गरी जिल्लाको खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा पनि ग्रामीण आँखा केन्द्रले आँखा सम्बन्धी सेवा प्रदान गर्दै आएका छन् । यी आँखा अस्पतालहरूमा बिरामीको भिड बढेको छ । आँखा पाक्ने रोगले जिल्लामा रहेका चस्मा पसलमा पनि भिडभाड देखिन थालेको छ ।