रामेछाप । वाग्मती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले मुलुकको विकासमा अहिले प्रदेश सरकारको प्रमुख भूमिका रहेको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री कट्टेलले यस्तो बताउनुभएको हो ।
मुलुकमा प्रदेश सरकार नरहेमा स्थानीय सरकार पनि नरहने उहाँले बताउनुभयो । ‘प्रदेश सरकार खारेज भए सङ्घीय सरकार पनि यस्तो रहँदैन, अनि स्थानीय सरकार पहिलेकै गाउँ विकास र वडाहरूमा जान्छ’, उहाँले भन्नुभयो । अहिले प्रदेश खारेजीको कुराहरू उठ्न थालेको भन्दै यो कुरालाई जनताले अस्वीकार गरेको उहाँको भनाइ छ । ‘प्रदेश सरकार र सङ्घीयता चाहिछ कि चहिदैन भन्ने बहस उठ्न थालेका छन्, यो कुरा जनताले स्वीकार गरेका छैनन् र गर्नु पनि हुँदैन’, उहाँले भन्नुभयो । नागरिकको चाहना अनुसार देश विकास गर्न सङ्घ, प्रदेश र स्थानीय तीन तहकै सरकारबिच आवश्यकता अनुसारको समन्वय हुनु पर्नेमा उहाँको जोड् छ । मुख्य मन्त्री कट्टेलले प्रदेश खारेज गर्ने कुरा जुनसुकै पार्टीबाट उठे पनि ती त्यो अहिलेको व्यवस्था उल्ट्याउन लागि परेको आरोप समेत लगाउनुभयो । मुख्य मन्त्री कट्टेलले आगामी साउनदेखि ५० लाख रुपैयाँ भन्दा मुनिका सबै योजना स्थानीय सरकारले काम गर्ने गरी योजना अगाडि बढाइने बताउनुभयो । ‘ आगामी वर्षबाट ५० लाख रुपैयाँ भन्दा मुनिका सबै योजनाहरूको काम स्थानीय सरकारले गर्छ, वाग्मती प्रदेश सरकारले सोही अनुसार योजना बनाएको छ, यसका लागि आवश्यक काम समेत सम्बन्धित मन्त्रालयमा भइरहेको छ’, उहाँले भन्नुभयो । विगतका प्रदेशका मन्त्रीहरूले आफ्नो गृह जिल्लामा मात्रै बजेट हाल्ने गरेको स्मरण गर्दै उहाँले त्यो परि पार्टीको अब अन्त्य गर्ने समेत बताउनुभयो । मुख्य मन्त्री कट्टेलले अबको शिक्षा व्यवहारिक र प्रयोगात्मक हुनु पर्नेमा जोड् दिनुभयो ।