नेपाली सेनाको भूमिकाले विश्वले नेपालको इज्जत गर्न थाले : प्रधान सेनापति शर्मा

  • प्रकाशित मिति: मंगलबार, चैत्र २१ २०७९
  • तामाकोशी

रामेछाप । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विश्व शान्ति स्थापनामा नेपाली सेनाको भूमिकाले विश्वमा नेपालको इज्जत बढाएको बताउनुभएको छ । मंगलबार रामेछापको मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विश्व शान्ति स्थापनामा पनि नेपाली सेनाको उल्लेख्य भूमिका रहेको बताउनुभयो । ‘विश्वमा शान्ति स्थापनाको लागि शान्ति सेनामा काम गर्ने देश मध्ये नेपाल दोस्रो स्थानमा छ, यसले विश्वले नेपालको इज्जत गर्न थालेको छ’, उहाँले भन्नुभयो । देशको सुरक्षाको साथै विकास निर्माण, विपतमा उद्धार, पर्यावरण संरक्षण र विश्व शान्ति स्थापनामा नेपाली सेनाको महत्पूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । ‘नेपाली सेनाको १० प्रतिशत बढी जनशक्ति वातावरण संरक्षणको काममा खटाइएको छ, वातावरण संरक्षणमा नेपाली सेनाको जस्तो संलग्नता विश्वका अन्य देशको सेनामा छैन’, उहाँले भन्नुभयो । शर्माले सेनामा काम गर्दा सिकेको सिपलाई समाजमा प्रयोग गर्न पूर्व सैनिकलाई आग्रह गर्नुभयो । नेपाली जनताको स्तर अभिवृद्धि गर्न पूर्व सैनिकहरूको महत्त्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । ‘पूर्व सेनाले गरेको असल कामले नेपाली सेनाको छवि उच्च हुन्छ, पूर्व सेनाले गरेको सानो कमजोरीले पनि नेपाली सेनाका छवि धुमिलिन सक्छ, त्यसैले यसमा सचेत हुन जरुरी छ’, उहाँले भन्नुभयो । नेपाली सेनाको कल्याणकारी कोष मार्फत पूर्व सैनिक र उनीहरूका परिवारका लागि विभिन्न सहयोग भइरहेको उहाँले बताउनुभयो । त्यो सहयोग लिन पनि उहाँले पूर्व सैनिक र उनीहरूका परिवारलाई आग्रह गर्नुभयो । ‘कल्याणकारी कोषको रकमलाई पारदर्शी बनाउनु पर्छ भन्नेमा नेपाली सेना प्रतिबद्ध छ, कोषमा लगानी सहित ७४ अर्ब रुपैँया रहेकामा भर्खरै ३ अर्ब रुपैँया थपिएको छ’, उहाँले सुनाउनुभयो । कोषबाट १० लाख बढी हिताधिकारीले सेवा लिइरहेका उहाँले बताउनुभयो । कल्याणकारी कोषको रकमको ठुलो हिस्सा शिक्षा क्षेत्रमा लगानी भएको उहाँले जानकारी दिनुभयो । सेनाको मेडिकल, कृषि तथा पशु स्वास्थ्य कलेज सञ्चालनमा रहेकामा अब इञ्जिनियरिङ कलेज समेत सञ्चालनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । सैनिक स्कुलमा पढ्न नपाउने सैनिक परिवारका ३० हजार बढी बालबालिकालाई वार्षिक छात्रवृत्ति दिँदै आएको पनि उहाँले बताउनुभयो ।