रामेछाप । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले अत्यधिक मात्रामा बढाइएको बैङ्कको ब्याज तिरेर कुनै पनि व्यवसाय चल्ने अवस्था नरहेको बताउनुभएको छ । शनिवार रामेछाप उद्योग वाणिज्य सङ्घको १४ औँ वार्षिक साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले बैङ्कहरूले व्यवसायीहरूलाई अत्यन्तै अप्ठेरोमा पार्ने गरी महिना महिनामा मनलाग्दो ढङ्गले याज बढाइरहेको उहाँको आरोप छ । बैङ्कको १६ प्रतिशतसम्म व्याज तिर्न नसक्दा आज व्यवसायीहरू आत्मदाह तथा आत्महत्या गर्ने अवस्थामा पुगेको समेत उहाँले बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ठुलो समस्या आइरहेको समयमा बैङ्कहरूले महिना महिनामा बढाएको बैङ्क ब्याज तिर्न नसकेर व्यवसायीहरूले आत्मदाह तथा आत्महत्या गरिरहँदा राज्य र उसको अनुगमन गर्ने संयन्त्र मुख दर्शक बनेर बसेको उहाँको भनाइ छ । अहिले सबैको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार पनि व्यवसायीलाई अनुगमनको बहानामा दुःख जरिवाना गर्ने तर्फ लागिरहेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा रहेका व्यवसायहरू कसरी चलिरहेका छन्, उनीहरूको समस्या के कस्ता छन् भन्ने तर्फ नभै अहिलेका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू विभिन्न गल्तीहरू देखाएर व्यवसायीहरूलाई दण्ड जरिवाना गर्न केद्रीत भएको उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले अहिले सबै तिर आर्थिक मन्दी हुँदा सबै भन्दा बढी असर व्यवसायमा परेको बताउनुभयो । यो अवस्थामा उद्योग वाणिज्य महासङ्घ र उद्योग वाणिज्य सङ्घ व्यवसायीहरूको हक हितका लागि लाग्नुपर्ने उहाँको भनाइ छ । रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका विभिन्न स्थानमा रहेका व्यवसायीहरूको समस्याको पहिचान गरी सरोकारवाला निकायसँग समन्वय गरेर समाधानमा लाग्नुपर्नेमा उहाँको जोड छ । मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले समृद्ध नगरपालिका बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर नगरपालिकाले काम गर्ने बताउनुभयो । नगरपालिका भित्रका बजार क्षेत्रमा रहेका व्यवसायीहरुको हित र पवद्र्धनमा ध्यानमा राखेर नगरपालिका अहिले बजारको थप व्यवस्थापनमा लागेको उहाँको भनाइ छ । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले रामेछाप उद्योग वाणिज्य सङ्घ सदस्य बढाउने मात्रै नभई आफ्ना सदस्यहरूलाई उत्पादनसँग जोडेर उद्योगपति बनाउन तिर लाग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि जिल्लामा उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ र सम्भावनाका बारेमा खोजी हुनुपर्ने उहाँले बताउनुभयो ।