मेलुङ गाउँपालिकाको ३०० नागरिकलाई अपाङ्गता परिचयपत्र प्रदान

  • प्रकाशित मिति: आइतबार, माघ ८ २०७९
  • तामाकोशी

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका तीन सय जना अपाङ्गता भएका नागरिकहरूलाई परिचयपत्र प्रदान गरिएको छ । गाउँपालिकाले २०७७ साल र २०७९ सालमा गरी पालिकाभित्रका २७९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । यसअघि अपाङ्गता परिचयपत्र लिन छुटेका र लिन बाँकी रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । उहाँका अनुसार यो वर्ष क र ख वर्गका ५÷५ जना, ग वर्गको १९ जना र घ वर्गका १० जना गरी ३९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने २०७७ सालमा क वर्गको ४९ जना, ख वर्गको ९५ जना, ग वर्गको ६९ जना र घ वर्गको २७ जनालाई अपाङ्गता परिचयपत्र पाएका प्रदान गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा संयुक्त राष्ट्र सङ्घले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीको उद्देश्य, मर्म र भावना बमोजिम मेलुङ गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको सहजताको लागि परिचय–पत्र वितरण कार्यविधि बनाइएको थियो । सोही कार्यविधिको आधारमा गाउँपालिकाले आफ्नो पालिकाभित्र अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई चार समुकहमा वर्गीकरण गरिएको छ । जसमा क वर्गमा पूर्ण असक्त अपाङ्गता , ख वर्गमा अति असक्त, ग वर्गमा मध्यम अपाङ्गता र घ वर्गमा सामान्य अपाङ्गता पर्दछन् । क वर्गको रातो र ख वर्गको निलो परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले क्रमशः मासिक २००० र १००० सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सुविधा छ ।