काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । यस वर्ष असोज १० गते सोमवारदेखि नवरात्रा आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो ।
दशैँको टिका असोज १९ गते बिहान ११ बजेर १९ मिनेटमा उत्तम
- प्रकाशित मिति: शुक्रबार, भाद्र ३१ २०७९
- तामाकोशी