फोनिज बागमती प्रदेश अधिवेशन पुस २१ र २२ गते हेटौंडामा

  • प्रकाशित मिति: मंगलबार, पुष ६ २०७८
  • तामाकोशी

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अधिवेशन यही पुस २१ र २२ गते प्रदेश राजधानी हेटौंडामा हुने भएको छ । रामेछाप सदरमुकाम मन्थलीमा सोमबार र मंगलबार बसेको फोनिज बागमती प्रदेशको छैठौं पूर्ण बैठकले पुस २१ र २२ गते बागमती प्रदेश राजधानी हेटौंडामा अधिवेशन गर्ने निर्णय गरेको हो । फोनिजका केन्द्रीय कोषाध्यक्ष अमरध्वज लामाको प्रमुख आतिथ्यता र बागमती प्रदेशका इन्चार्ज समीर बलामीको आतिथ्यतामा सम्पन्न बैठकले फोनिज बागमती प्रदेशको दोस्रो अधिवेशनको मिति र स्थान टुङ्ग्याएको हो । बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी बाडफाड समेत गरेको फोनिज बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश अधिवेशनका लागि आर्थिक व्यवस्थापन समिति, साँस्कृतिक प्रदर्शन समिति, प्रचार प्रसार समिति, अतिथि व्यवस्थापन समिति लगायत आधा दर्जन बढी समितिहरु मार्फत जिम्मेवारी प्रदान गरिएको छ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्ला शाखाका प्रतिनिधि, पर्यवेक्षक, जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिहरुको सहभागिता रहने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । बैठकमा फोनिजका केन्द्रीय कोषाध्यक्ष अमरध्वज लामा, बागमती प्रदेश इन्चार्ज समीर बलामी र बागमती प्रदेशका अध्यक्ष पेमा लामाले अधिवेशनका लागि बनाइएको समितिहरुलाई छिटो, छरितो र प्रभावकारी ढंगले काम गर्न आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।