रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को दिनानुदिन सङ्क्रमण दर बढिरहेको समयमा अग्रभागमा रहेर काम गर्दै आएका रामेछापका स्वास्थ्यकर्मी र पत्रकार गरी जम्मा ३२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । जिल्लाका २२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कणर्ले बताउनुभयोे । कणर्का अनुसार ४४१ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेको रामेछापमा अहिले ३२५ जना स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । ८६ जनाको स्थायी दरबन्दी रिक्त रहेको उहाँले बताउनुभयो । जिल्लामा स्थायी र करार गरी करिब ४६४ जना स्वास्थ्यकर्मी हाल कार्यरत रहेको उहाँको भनाई छ । कोरोना सङ्क्रमित २२ जना स्वास्थ्यकर्मी मध्ये १९ जना डिस्चार्ज भइसकेका छन्््् भने तीन जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य प्रमुख कणर्ले बताउनुभयो । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मीमध्ये केही स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मीलाई अहोरात्र काममा खटाएर कोरोना सङ्क्रमित र अन्य बिरामीहरुको उपचार सेवा निरन्तर रुपमा प्रवाह गरिरहेको स्वास्थ्य प्रमुख कणर्ले बताउनुभयो । २४ घण्टासम्म बिरामीको उपचारमा खटिएर सेवा दिएका स्वास्थ्यकर्मीलाई स्थानीय तहले अहिलेसम्म जोखिमभत्ताको व्यवस्था नगरेकोप्रति उहाँले गुनासो गर्नुभयो । आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको बारेमा स्थानीय तहले गम्भीरताका साथ सोच्नुपर्ने स्वास्थ्यप्रमुख कणर्ले बताउनुभयो । कोरोना सङ्क्रमणको महामारीको समयमा जो नियमित रुपमा खटिएका छन्, उनीहरुको लागि जोखिमभत्ताको व्यवस्था गरिदिन जिल्लाका आठवटै स्थानीय तहसँग उहाँले अनुरोध समेत गर्नुभएको छ । जिल्लामा हालसम्म विभिन्न सञ्चारमाध्ययमा कार्यरत दश जना पत्रकारका कोरोना सङ्क्रमण भएको छ । पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरेले दश जना पत्रकारमा कोरोनाको सङ्क्रमण पुष्टि भएको सवै कोरोनासङ्क्रमणमुक्त भैसकेको बताउनुभयो।
रामेछापमा हालसम्म २२ जना स्वास्थ्यकर्मी र १० जना पत्रकारमा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७ २०७८
- तामाकोशी