कोरोनाका बिमितले पाएनन् भुक्तानीः नियामक निकाय भने मौन

  • प्रकाशित मिति: मंगलबार, असोज ६ २०७७
  • तामाकोशी

काठमाडौँ । करिब डेढ महिनाअघि कोरोनाबाट संक्रमित भएको प्रमाणित भएपछि चार्टर्ड एकाउन्टेन्ट प्रवेश आचार्यले बिमा दाबीका लागि आफूले बिमा गरेको कम्पनीमा आवेदन दिए । आवेदन दिएको ३५ दिन भयो । तर उनले दाबी भुक्तानी पाएका छैनन् । बिमा कम्पनीले मागेको सबै कागजात पेस गरेका आचार्यले कोरोना परीक्षण पनि सरकारी अस्पतालमै गराएका हुन् ।
झन्डै एक महिनाअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि प्रभा पन्थीले पनि दाबी भुक्तानीका लागि बिमा कम्पनीमा आवेदन दिइन् । अहिले उनी पूर्ण रूपमा निको भइसकेकी छन् । तर बिमा दाबी भुक्तानी पाएकी छैनन् । पन्थीले बुटवलस्थित निजी अस्पतालमा कोरोना परीक्षण गराएकी थिइन् । आचार्य र पन्थी दुवैले जनरल इन्स्योरेन्सअन्तर्गत एक लाख रुपैयाँ बिमांकको कोरोना बिमा गरेका थिए ।
गत भदौ पहिलो साता कोरोना संक्रमण पुष्टि भएका दीपेश केसी (नाम परिवर्तन) ले दोस्रो साता युनाइटेड इन्स्योरेन्स कम्पनीमा रिपोर्टसहित दाबी भुक्तानीका लागि आवेदन दिए । असोज पहिलो साता भइसक्दा पनि उनले रकम पाएका छैनन् । यो अवधिमा न त कागजात पुगेन भनेर कम्पनीबाट खबर नै आएको छ । न उनले दाबी भुक्तानी नै पाएका छन् । खोइ के भएको रहेछ, बुझ्न जानुपर्ला अब त निको पनि भइसकें, उनले भने ।
यी केही उदाहरण मात्र हुन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका दर्जनभन्दा बढी बिमितसँगको कुराकानीमा यस्तो रहस्य बाहिर आएको हो । कोरोना बिमा मापदण्ड– ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बिमा कम्पनीले बिरामी (बिमित) निको भएको रिपोर्ट (नेगेटिभ रिपोर्ट) चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बिमा दाबीमा चाहिने कोरोना पोजिटिभ रिपोर्ट हो । नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मापदण्डमा छैन । यसकारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारहरू बताउँछन् । मापदण्डअनुसार बिमा कम्पनीले भुक्तानी नदिएर बिमितलाई मर्का परिरहेका बेला नियामक निकाय बिमा समिति भने मौन छ ।
कम्पनीले किन भुक्तानी नदिएको भन्ने जिज्ञासामा समितिका उच्च अधिकारी भन्छन्, ‘यसबारे अहिले नबोलौं, अदालतमा मुद्दा परेको छ ।’ अहिले कोरोना बिमामा दाबी भुक्तानी ढिलाइ भएको बिमा कम्पनीहरूले पनि स्विकारेका छन् । भदौ दोस्रो साता बिमा समितिबाट निजी प्रयोगशालाको रिपोर्टका आधारमा दाबी भुक्तानी नदिनू भन्ने पछिल्लो निर्देशन जारी भएपछि बिमा कम्पनीहरूले दाबी भुक्तानी रोकेको स्रोतले बताएको छ, आजको कान्तिपुरमा खबर छ ।