रामेछापका ७९ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, ४५ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: शुक्रबार, असोज २ २०७७
  • तामाकोशी

रामेछाप । असोज २ गते,
रामेछापका ७९ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब पठाइएका ७९ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ५५ जना मध्ये ३७ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा ७ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ६ जना गरि १८ जना संक्रमितको उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये शुक्रबार परीक्षणका लागि स्वाब पठाइएका मन्थली नगरपालिकाका ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जना गरि ७९ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र ३८ जना पुरुष गरि ४५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला १६ जना र ४८ जना पुरुष गरि ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्