रामेछाप । भदौ ३० गते,
रामेछापमा अब लक्षण देखिएका र उच्च जोखिममा रहेर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर पीसीआर मार्फत कोरोना परीक्षण गर्ने तयारी भएको छ । यही तयारी स्वरुप भदौ २३ गतेदेखी कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छैन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले लक्षण देखा परेका र उच्च जोखिममा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिएर कोरोना परीक्षण गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । संक्रमितको सम्पर्कमा आएका भनिएका सबैको कोरोना परीक्षण गर्दा अनावश्यक खर्च बढेकाले यसैलाई मध्यनजर गरि यस्तो योजना बनाएर काम गर्ने तयारी भैरहेको उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालयका अनुसार रामेछापमा भदौ २३ गतेसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ५५ जना मध्ये ३७ जना कोरोनामुक्त भैसकेका छन् । अहिले जिल्ला अस्पतालमा १० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा ६ जना संक्रमितको उपचार भैरहको स्वास्थय कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र ३१ जना पुरुष गरि ३८ जना क्वारेन्टिनमा रहेका छन् । मंगलबार गोकुलगंगा गाउँपालिकाका १९ जना क्वारेन्टीनबाट फिर्ता भएका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला १४ जना र ४७ जना पुरुष गरि ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लक्षण देखिएका र उच्च जोखिममा रहेर काम गर्नेको मात्रै पीसीआर परीक्षण गरिने
- प्रकाशित मिति: मंगलबार, भाद्र ३० २०७७
- तामाकोशी