सामाज र पारिवारको सहयोग र सद्भावले कोरोनालाई जितेँ

  • प्रकाशित मिति: बुधबार, भाद्र २४ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २४ गते,
रामेछापको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल कोरोनाबाट नागरिकलाई बचाउन दिनरात खट्नुभयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर काम गर्दागर्दै थाहै नपाई उहाँमा कोरोना संक्रमण देखियो । साउन २९ गते घरयासी कामका लागि बिदामा बस्नुभएको थियो । ‘अपरान्ह जिल्ला अस्पताबाट फोन अयो, मलाई त कोरोना संक्रमण भएछ’, फुयाँलले भन्नुभयो । उहाँले परीक्षणका लागि साउन २६ गते स्वाब दिनुभएको थियो । सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको खबरले उहाँलाई अचम्मीत तुल्यायो । ‘रिपोर्ट पोजेटिभ आएपछि नपत्याउने कुरा पनि भएन’, उहाँले भन्नुभयो । नगरपालिकाभरका स्वास्थ्य संस्थाका लागि औषधि उपकरण लगायत व्यवस्थापन गर्नुपर्ने । बाहिरबाट आएका मानिसका लागि क्वारेन्टिन, आइसोलेशन लगायतको काम । आइसोलेशन र क्वारेन्टिनमा पुगेर संक्रमितसँग भेटघाट र उनीहरुको समस्या पनि सुन्नै पर्ने । प्राय भिडभाडकै बीचमा काम गर्न पर्ने । त्यसैले कतिबेला कहाँबाट संक्रमण स¥यो भन्ने फुयाँलले अनुमान लगाउन सक्नु भएको छैन ।‘धेरै मानिसको भीडभाडमा पनि काम गरियो, तथापि सकेसम्म सतर्कता अपनाएको थिए, खै कहाँबाट भेट्यो भेट्यो, केही अन्दाज नै गर्न सकेको छैन’, फुयाँल भन्नुहुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै उहाँमा संक्रमण देखियो । तर सत्यलाई स्वीकार्नुको विकल्प उहाँसँग थिएन । एक हिसाबले कसरी कहाँबाट भयो भन्ने मलाई कौतुहलता रहिरह्यो, म सावधानीपूर्वक नै खटिएको थिएँ’, फुयाँलले भन्नुभयो । तर रोग लागि सकेपछि आत्मबल बढाउने र रोगसँग लड्नुको विकल्प थिएन । आफ्नै घरमा आईसोलेशनमा बसेर उहाँ रोग विरुद्ध लड्न सुरु गर्नुभयो । शारारिक र मानसिक रुपमा भरसक आफूलाई तन्दुरुस्त राख्ने प्रयास गरेँ, आत्मबल बलियो बनाएँ, १३ आँै दिनमा कोरोनालाई जित्न सफल भएँ’, फुयाँलले भन्नुभयो । कोरोना संक्रमित भैसकेपछि उहाँमा त्यस्तो केहि लक्षण देखिएन । ‘जसरी पनि यो समाजमा स्थापित हुनुछ, यो कोरोनालाई जित्नुछ भन्ने आत्मबलनै मेरो कोरोना जित्ने औषधी बन्यो’ उहाँले भन्नुभयो । उहाँको अनुभवमा आहार, व्यवहार र विचारलाई तन्दुरुस्त राख्दा रोगसँग सहजै जित्न सकिने रहेछ । आईसोलेशनमा बस्दा खानपान र सरसफाईमा निक्कै ध्यान दिएको उहाँले बताउनुभयो । ताजा र प्रोटिनयुक्त खानेकुरा, फलफूल, दुध, सागपात, गेडागुडी खाने, तातोपानी, कागती पानी, अदुवा र बेसारपानी, गुर्जोको चिया नियमित रुपमा खाएको उहाँले बताउनुभयो । आयुर्वेदका स्वास्थ्यकर्मीको सल्लाहमा जडिबुटी तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधिहरु पनि नियमित सेवन गरेको उहाँले बताउनुभयो । त्यस्तै मसलादार खानेकुरा नियमित खाएको उहाँले बताउनुभयो । ‘अदुवा, मरिच, लसुन, सुकुमेल, दालचिनी लगायत मसलाहरु नियमित खानामा चुस्ने समेत गरेँ’, उहाँले भन्नुभयो । रोगसँग जित्ने कुरा संक्रमितकै हातमा हुने फुयाँलको अनुभव छ । ‘मुख्यतः मनमा सकारात्मक सोच्ने, आत्मबल बलियो बनाउने, योग, ध्यान, व्यायाय र प्रणायम गर्ने ताजा र स्वास्थ्यवर्धक खाने कुरा खाने हो भने रोगलाई सहजै जित्न सकिने रहेछ’, उहाँले भन्नुभयो । आत्मलाई शान्त, खुशी र सुखी बनायो भने सजिलै रोगलाई जित्न सकिने रहेछ । अधिकांश समय शुभचिन्तकका फोन आइरहने भएकाले पनि आइसोलेसनको बसाई त्यति पट्यारलाग्दो नभएको उहाँले बताउनुभयो । ‘साथीहरुका फोन आइरहन्थे, उहाँहरुसँग अनुभव शेयर गर्ने, कुराकानी गर्ने, फुर्सद भएको बेला पढ्ने, इन्टरनेटमा नयाँ नयाँ कुरा हेर्ने, यसो गर्दा दिन बितेको पत्तै भएन’, उहाँले भन्नुभयो । आइसोलेशनमा बस्दा व्यक्तिगत सरसफाई गरी आफू सुरक्षित हुनु र आफूबाट अरुलाई रोग नसार्नु महत्वपूर्ण कुरा भएको फुयाँल बताउनुहुन्छ । होम आइसोलेशन वा सामुदायिक आइसोलेशनमा जहाँ बसेपनि यो कुरामा भने संक्रमितले एकदमै ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।उहाँले कारोनालाई जित्न सामाजि रपारिवारिक सहयोग तथा सद्भावको आवश्यक रहेकोे बताउनुभयो । ‘कोरोना संक्रमित भएपछि परिवार र समाज दुवैबाट सद्भावपुर्ण सहयोग पाइयो, यसले गर्दा पनि सजिलै कोरोना जित्न सकियो’, उहाँले भन्नुभयो । संक्रमितलाई परिवार र समाजले हेर्ने दृष्टिकोण सकारात्मक भए लक्ष्यण नदेखिएका संक्रमितले पनि सहजै कोरोनालाई जित्न सक्ने उहाँको अनुभव छ । ‘कोरोना लागेपछि सामाजिक रुपमा बहिस्कार गर्ने क्रम बढेको छ, त्यसले संक्रमितको मनोवल घट्छ’, उहाँले भन्नुभयो ।