रामेछापका ३६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, २० जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: बुधबार, भाद्र १७ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १७ गते,
रामेछापका ३६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ३६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार १ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ३७ जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरका एक जना स्वास्थ्यकर्मी सहित ४ जनाको आइसोलेशनमा उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये विभिन्न समयमा स्वाब संकलन गरिएका ३६ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र १७ जना पुरुष गरि २० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ९ जना र २७ जना पुरुष गरि ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।