नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुग्यो,संक्रमणबाट २०७ जनाको मृ*त्यु

  • प्रकाशित मिति: शनिबार, भाद्र १३ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ १३ गते,
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८८४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । कोरोनाभाइरसको संक्रमणबाट मृ*त्यु हुनेको संख्या २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृ*त्यु भएको जनाएको छ । मृ*त्यु हुनेमा तीनजना महिला र नौजना पुरुष रहेका छन् । जसमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको मृ*त्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । त्यस्तै, काठमाडौंका ८३ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, सिरहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, पर्साका ४८ र ३९ वर्षीय पुरुष, ललितपुरका ७२ वर्षीय र ६१ वर्षीय पुरुष तथा कास्की ५८ वर्षीय गरी नौजना पुरुषको मृ*त्यु उहाँले जानकारी दिनुभयो । नेपालमा अहिले १६ हजार ५९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । जसमा छ हजार ४४५ जना ‘होम आइसोलेसन’मा रहेका छन् भने १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, देशभर १७५ जना कोरोना संक्रमित ‘आइसीयू’मा र २२ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घन्टामा ३१३ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको जम्मा संख्या २० हजार २५५ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुने दर ५५ प्रतिशत रहेको छ ।पछिल्लो २४ घन्टामा ११ हजार ५१६ जनाको ‘पीसीआर’ परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म छ लाख ६९ हजार ६२६ ओटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।