-विज्ञान र प्रविधिको चमत्कारीसंगै मानिसले भौतिकवादको विकासमा ठुलो उपलब्धी हासिल गरिसकेको छ । लोक–परलोक कुनै अलौकिक शक्तिले निर्मित अन्धविश्वासलाई तोड्दै मानिसलाई चन्द्रमामा पाइला टेक्न सफल गरायो, तर विडम्वना भौतिक विज्ञानले उन्नतीको शिखर चूम्ने दिशा तिर अघि बढी सक्दा हाम्रो नेपाली समाज अन्धविश्वासमा रुमलिरहेको छ ।
म एक हेल्थ असिस्टेन्ट र जनस्वास्थ्यको विद्यार्थी हुँ । म जनस्वास्थ्य विषयमा अध्ययनरत थिए । कुरा करिब चार/पाचँ वर्ष अगाडिको हो । दशैँ तिहारको चाड पर्व मनाउन म गाउँ आउने मौका पाएँ । दशै तिहारको बिदाको समयमा धेरै कुराको अनुभव संग–संगै धेरै कुरा सिक्ने अबसर पाए । एक महिनाको बिदा पछि म भाइटिकाको भोलिपल्ट काठमान्डौं जान हतारिदै थिए, अचानक त्यहि समयमा गाउँको एक बहिनी नाम परिवर्तन (निशा) लाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको खबर जब सुने तत्काल म स्वास्थ्य स्वयमसेविकालाई साथमा लिएर सुत्केरी कहाँ पुगे । अबस्था अलि नाजुक नै थियो । ती बहिनीको सुत्केरी हुने समय भन्दा एक हप्ता पर सरिसकेको रहेछ र व्यथाले च्यापेको चौबिस घण्टा नाघिसकेको रहेछ । अबस्था राम्रो छैन बहिनीलाई सुत्केरी गराउन स्वस्थ्य चौकि अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा लानुपर्छ मैले के भनेको थिए, सुत्केरीको आफन्तले एकै स्वरमा भने “कहाँ स्वस्थ्य चौकि लैजानु यसलाइ त धामी झाक्री कहाँ लानुपर्छ” । मैले धेरै सम्झाउने प्रयास गरे, तर ति गाउका आमाहरुले फेरी थपे “उहिले हामीले दश/बाह्र जना बच्चा जन्माउदा न अस्पताल गए न औषधी खाए, अहिेलेको आइमाइहरुको कुरा सुन्दा फुर्ति गरेको जस्तो लाग्छ” ! म निशब्द भए, ती आमाहरुको कुराले मेरो मनमा हजारौ प्रश्नहरु सलबलाउन थाल्यो ।
मलाई लाग्थ्योकी मैले जति अन्धविश्वासलाई विश्वास गर्दिन, त्यतिनै अरु मानिसले पनि गर्दैन, म सोच्ने गर्थे सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालहरुकोे विकास संगै नेपाली समाजमा हरेक व्यक्तिहरुका मानसिकता पनि परिवर्तन भएसकेको छ, तर अपसोच त्यो सबै विपरीत भईदियो । हरेक नेपालीले खानपिन देखि आफनो सस्कार, सस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरीवाज इत्यादि परिवर्तन गरिरहेको छ तर प्रसव पिडामा छटपटिरहेको एउटी महिलालाई सूरक्षित साथ स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनु पर्छ भन्ने मानसिकता किन बुझिएन ? सामजिक सञ्जाल र सञ्चार माध्यमले हरेक क्षेत्रको सुचना प्रवाह गरीरहेको छ । अझ भनौं सुरक्षित मातृत्वको विषयलाई दिगो विकासको लक्ष्यको चौथो नम्बरमा समाबेस गरिएको छ । सुरक्षित मातृत्वका विषय र कार्यक्रमलाई सडक देखि सदन सम्म विभिन्न आवाजहरु उठाइरहेको पाइन्छ, तर त्यो आवाज गाँउ समाज सम्म पुगेको पाउन सकिन । यस्ता सदियौं देखिको कुप्रथा, अन्धविश्वासले हाम्रो समाजमा जरा गाडी रहदा नेपालमा बर्षेनी हजारौँ गर्भवती महिलाहरुले ज्यान गुमाउन बाध्य भएका छन् । अन्धविश्वास र धामी झाक्री प्रतिको विश्वासले हरेक वर्ष करिब १४०० सुत्केरी आमाहरुले ज्यान गुमाइरहेको विभिन्न तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । यस्तो हुदाहुदै कतै नेपाली समाज अझै पनि बृहत रुपमा अन्धविश्वासमा रुमलिरहेको त छैन ? यस्ता प्रश्नहरुले राजनितिक नेतृत्वका भाषणलाई मात्र हैन नीति निर्माताहरुको कार्यलाई गिज्याईरहेको देख्छु । ती आमाहरुको जिद्धीको बाबजुत मैले सुरक्षित मातृत्वको बारेमा विस्तृत जानकारी गराए, हुन सक्ने सम्भावित घटनाहरुको बारेमा प्रष्ट पारे र अनन्त; ती बहिनीको स्वास्थ्य कर्मीको सहगोगमा सुरक्षित साथ सुत्केरी गराउन सफल भए । यस्ता उच्च जोखिम गर्भावस्थामा ध्यान दिनु पर्ने कुराहरु जस्तै मातृ पोषणको प्रबर्धन, सबै केसहरुमा पर्याप्त डेलिभेरी सहयोग, गर्भावस्था, बच्चा जन्माउने र गर्भपतन जटिलताको लागि रेफरल सेवाहरु सहित प्रसुति आपतकालिनको लागी प्रावधानहरु र बच्चा जन्मेपछि हेरचाहका कुराहरु आधुनिक समाजलाई हामीले अझै बुझाउन जरुरी देखिन्छ ।
यो त एउटा प्रतिनिधीमुलक घटना मात्र हो कि यस्ता घटनाहरु हाम्रो समाजमा अझै विद्धामान अबस्थामा धेरै हुने गरेका छन् । हामी ठुला–ठुला परिवर्तनका कुराहरु गरिरहेकाछौ तर व्यवहारमा हाम्रो आफ्नै समाजमा यस्ता कुप्रथाहरु अझै अन्त्य गर्न सकेका छैनौं । देश आमुल परिवर्तनका कुराहरु गरिरहदा हामीले यस्ता साना–साना कुराहरुलाई पनि आत्मसाथ गर्न सकेनौ भने भोलीको समयमा अझ विकराल परिस्थिति नआउला भन्न सकिन्न ।