दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शनिबार, भाद्र ६ २०७७
  • तामाकोशी

दोलखा । भदौ ६ गते,
दोलखा जिल्लामा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवारण अनुसार संक्रमित सदरमुकाम भिमेश्वर नगरपालिकाका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत भदौ २ गते पीसीआर परीक्षणका लागि स्वाब पठाइएका ६२ जना मध्य ६ जनालाई संक्रमण देखिएको हो । पोजेटिभ प्रतिवेदन आउनेमा तीन महिला र तीन पुरुष रहेका छन् । यस अघि जिल्लाको गौरीशंकर गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि पठाईएका १ सय ७६ जनाको स्वाब मध्ये शुक्रबार १ सय ४१ जनाको परीक्षण रिपोर्ट आउँदा चार जनामा संक्रमण देखिएको छ । सो गाउँपालिकामा यस अघि पनि सात जना संक्रमित फेला परिसकेका छन् । शुक्रबार फेला परेका संक्रमीत मध्ये एक जना १३ बर्षिया बालिका छिन् । यस्तै अर्की एक सुत्केरीलाई समेत संक्रमण देखिएको छ । संक्रमित मध्ये स्वास फेर्न गाह्रो भएका कारण एक जनालाई थप उपचारका लागि धुलिखेल पठाईएको छ । कोरोना संक्रमित बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले भदौ ६ गते सम्मका लागि गरेको लकडाउन बढाएर भदौ १० गते सम्म पुर्याएको छ । संक्रमित भिमेश्वर नगरपालिकाका भएकोले सुरक्षामा कडाइ गरिएको छ ।