रामेछाप । भदौ ६ गते,
रामेछापको मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएकाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको भनेर शुक्रबार साझबाटै सामाजिक सन्जाल फेसबुकमा चर्चा भएपनि स्वास्थ्य कार्यालय रामेछापले भने शनिबार अपरान्ह् साढे ४ बजेसम्म रिपोर्ट नआएको जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले पीसीआर रिपोर्ट आउन बाँकि १ सय ३३ जनाको रिपोर्ट अझै नआएको जानकारी दिनुभएको छ । यसअघि मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको भन्दै जिल्लाभर त्रास बढेको छ । अहिले रामेछाप जिल्लाबासी मन्थली नगरपालिकाभित्रका ७९ जना सहित १ सय ३३ जनाको रिपोर्टको प्रतिक्षामा छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न व्यक्तिहरुले रिपोर्ट आइसकेको भनि सार्वजनिक भैरहेको कुरालाई लक्षित गरी स्वास्थ्य कार्यालयमा आधिकारिक रुपमा रिपोर्टका बारेमा केहि जानकारी नआएकाले रिपोर्टको प्रतिक्षामा रहेकाहरुलाई धैर्यधारण गर्न अनुरोध समेत गर्नुभएको छ । उहाँले आफुहरुलाई शनिबार साँझ वा आइतबार बिहानसम्म रिपोर्ट पठाउँने जानकारी भएको बताउनुभयो । स्वास्थ्य कार्यालयको प्रेस विज्ञप्ति अनुसार विभिन्न समयमा गरी स्वाब पठाइएका १ सय ३७ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकि छ । जिल्लामा अहिलेसम्म ८ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३३ जना मध्ये ३१ जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले मन्थली नगरपालिकाको आइसोलेशनमा २ जनाको उपचार भैरहेको छ । शनिबार मन्थली नगरपालिकाका थप ४ जनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । हालसम्म जिल्ला अस्पतालमा ५० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २२ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १ सय ३७ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यालयको प्रेस विज्ञप्ति हेर्नुहोस्
