रामेछापमा एकैदिन ३९ जना क्वारेन्टीनबाट फिर्ता, ३५ जनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: सोमबार, भाद्र १ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १ गते,
रामेछापमा विभिन्न स्थानीय तहमा क्वारेन्टीनमा बसेका ३९ जना एकैदिन क्वारेन्टीनबाट फिर्ता भएका छन् । सोमबार एकैदिन मन्थली नगरपालिकाको क्वारेन्टीनमा रहेका १६ जना ,रामेछाप नगरपालिकाको क्वारेन्टीनमा रहेका ८ जना र गोकुलगंगा गाउँपालिकाको क्वारेन्टीनमा रहेका १५ जना गरि ३९ जना क्वारेन्टीनबाट फिर्ता भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा ३५ जनाको कोरोना परीक्षण पीसीआर रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार शनिबार स्वाब पठाइएका खाँडादेवी गाउँपालिकाका २२ जना र सोमबार जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका १३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । यसअघि जिल्लामा ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा गरि ३३ जनामा संक्रमण पुष्टि भएको र ८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २६ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने रामेछाप नगरपालिकाको आइसोलेशनमा ६ जना र सुनापति गाउँपालिकाको आइसोलेशनमा १ जना गरी ७ जना संक्रमितको उपचार भैरहेको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ५० , मन्थली नगरपालिकामा २ सय ३९ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि ८ सय ९० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये खाँडादेवी गाउँपालिकाका २२ जना जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका १३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र १८ जना पुरुष गरि २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १३ बेडको आइसोलेशन कक्ष र ४ सय ६५ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।