मन्थली नगरपालिका कार्यालय सिल, खाद्यान्न पसल पनि बिहान ५ बजेदेखी १० बजेसम्म खोल्न पाइने

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
  • तामाकोशी

रामेछाप । साउन ३० गते,
स्वास्थ्य शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि रामेछापको मन्थली नगरपालिकाको कार्यालयलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयलाई सिल गरिएको जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीलाई बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्ने काम सुरु भइसकेको कार्यालयले जनाएको छ । मन्थली नगरपालिकाबाट १४ दिन भित्र सेवा लिएका नागरिकलाई सम्पर्कमा आउन पनि आग्रह गरिएको छ । ती कर्मचारीलाई संक्रमण देखिएसँगै मन्थली नगरपालिकाका कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा विहीबार स्वास्थ्य शाखाका एक जना कर्मचारी सहित थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णका अनुसार स्वास्थ्य शाखामा कार्यरत ५० बर्षिय पुरुष कर्मचारी ,मन्थली नगरपालिका ६ का ३० बर्षिय पुरुष र रामेछाप स्थायि ठेगना भइ हाल हेटौँडा बस्दै आएकि एक ४३ बर्षकी महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमितको संख्या ३३ पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि स्थानीय प्रशासनले बजार क्षेत्रमा पनि कडाई गरेको छ । स्थानीय प्रशासनले यसअघि विहान ५ बजेदेखी अपरान्ह् ४ बजे सम्म संचालन भएका इन्धन , औषधी पसल बाहेक पसल व्यवसायहरुलाई अब शुक्रबारबाट बिहान ५ बजेदेखी बिहान १० बजेसम्म संचालन गर्न माइकिङ मार्फत अनुरोध गरेको छ । प्रशासनले होटल ,रेस्टुरेन्ट ,हमाज र व्युटिपार्लर लगाएतका व्यवसाय संचालनमा पुर्ण रुपमा रोक लगाएको छ ।

जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयहरु हेर्नुहोस्