रामेछाप । साउन २७ गते,
विभिन्न समयमा गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको रामेछापमा थप एक सय एक जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । मंगलबार मन्थली नगरपालिकाका ८१ जना र रामेछाप नगरपालिकाका २० जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा यसअघि पीसीआर विधिबाट ६ सय ५० जनाको कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको थियो । यसमध्ये विभिन्न समयमा गरि ३१ जनामा संक्रमण पुष्टि भएको र ६ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाका ५ जना , दोरम्बा गाउँपालिकाका १ जना र सुनापति गाउँपालिकाका २ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुरा अब मंगलबार स्वाब संकलन गरिएको १ सय १ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ९ जना महिला र ४८ जना पुरुष गरि ५७ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ५३ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा कोरोना परीक्षणका लागि एकैदिन एकसय बढी स्वाब संकलन
- प्रकाशित मिति: मंगलबार, साउन २७ २०७७
- तामाकोशी