रामेछापमा अहिलेसम्म ६५० जनाको पीसीआर परीक्षण , ३१ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: सोमबार, साउन २६ २०७७
  • तामाकोशी

रामेछाप । साउन २६ गते,
रामेछाप जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ६ सय ५० जनाको कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा गरि ३१ जनामा संक्रमण पुष्टि भएको र ६ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाका ५ जना , दोरम्बा गाउँपालिकाका १ जना र सुनापति गाउँपालिकाका २ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्थास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १२ जना महिला र ७० जना पुरुष गरि ८२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ३६ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको पछिल्लो कोरोना भाइरस अपडेट हेर्नुहोस्