रामेछाप । साउन १६ गते,
रामेछापमा ६४ जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ९४ जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा ३२ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताउनुभयो । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ८ जना महिला र ५७ जना पुरुष गरि ६५ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा ३२ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ३ , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ६५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस ।
