रामेछाप । साउन १४ गते,
रामेछापमा ३० जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ । मंगलबार स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका १४ जना , गोकुलगंगा गाउँपालिकाका १२ जना र बुधबार स्वाब सङ्कलन गरिएको गोकुलगंगा गाउँपालिकाका ४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ६० जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये नगरपालिकाका १४ जना र गोकुलगंगा गाउँपालिकाका १६ गरी ३० जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ६ जना महिला र ५६ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २६ , रामेछाप नगरपालिकामा ३ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ३ , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ६२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ३० जनाको पीसीआर रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
- तामाकोशी