रामेछापका ५ सय ३० पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
  • तामाकोशी

रामेछाप । साउन ११ गते,
रामेछापमा हालसम्म जिल्लामा ५ सय ३० जनाको पीसीआर र ८ सय ९२ जनाको आडीटी विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र ५३ जना पुरुष गरि ५६ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २६ , रामेछाप नगरपालिकामा ३ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ७ , लिखुतामाकोशी गाउँपालिकामा २ र सुनापति गाउँपालिकामा ६ गरी जिल्लाभर ५६ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।