रामेछाप । साउन ६ गते,
रामेछापमा फेरि दुई जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ८ जनामध्ये मंगलबार आएको रिपोर्टमा एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमा सुनापति गाउँपालिकाकी २६ वर्षीया महिला र दोरम्बा गाउँपालिकाका २५ वर्षका पुरुष छन् । उनीहरु दुवै अहिले क्वारेन्टिनमा बसेका छन् । गत शुक्रबार सुनापति गाउँपालिकाका ४ र दोरम्बा गाउँपालिकाका ४ जनाको पीसीआर विधिबाट कारोना परीक्षणका लागि स्वाब पठाइएको थियो । यो संगै जिल्लामा ५ सय १७ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने ४ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ५८ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
रामेछापमा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति: मंगलबार, साउन ६ २०७७
- तामाकोशी