सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २९ पुग्यो, थप दुई महिलामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: सोमबार, असार ८ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोकं । असार ८ गते,
सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । सोमबार थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनकोशी गाउँपालिकाको महिला सिर्जनशीलको भवनमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बसेका दुई महिलामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईले जानकारी दिए । बाह्रबिसे नगरपालिका ७ की ३९ वर्षीय महिला र बलेफि गाउँपालिका ८ की २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । गत जेठ २९ गते कुवेत र भारतबाट आएर क्षेत्रीय क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको असार ६ गते स्वाब संकलन गरेर परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो । सोमबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको चापागाईले बताए । यो सँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुगेको छ ।