रामेछापमा ११५ पीसीआर रिपोर्ट आउन बाँकि,९६ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: बुधबार, असार ३ २०७७
  • तामाकोशी

रामेछाप । असार ३ गते,
रामेछापमा १ सय १५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । ३ सय ५५ जनाको स्वाब संकलन गरी पठाइएकोमा १९ जनाको पोजेटिभ आएको छ । २ सय २१ जनाको नेगेटिभ रिपोर्ट आएको र १ सय १५ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार बुधबार जिल्ला अस्पताल रामेछापमा नगरपालिकाका १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हालसम्म मन्थली नगरपालिमा ४९ , रामेछाप नगरपालिमा ५९ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ६३, उमाकुण्ड गाउँपालिकामा २४ , सुनापति गाउँपालिमा ५ र जिल्ला अस्पतालमा १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा १ सय १५ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ९६ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ५ र पुरुष ९१ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १ , मन्थली नगरपालिकामा ५ , रामेछाप नगरपालिकामा २६ , गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी ९६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ४ सय ६५ जना क्वारेन्टिनबाट घर फिर्ता भएका छन् ।
कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ , लिखुतामाकोशी गाउँपालिकाका ६ र मन्थली नगरपालिकाका एक जना गरी १८ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा समस्या आएका लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका एक पुरुषको पाटन अस्पतालमा उपचार भैरहेको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।