कोरोना भाइरस रोकथामबारे जानकारी मूलक स्रोत पुस्तिका कसका लागि उपयोगी

  • प्रकाशित मिति: सोमबार, असार १ २०७७
  • तामाकोशी

कमल बहादुर बसेल ,
न्याय तथा अधिकार संस्था नेपालले कोरोना भाइरस रोकथामबारे जानकारीमूलक स्रोत पुस्तिका प्रकाशन गरेको छ । जुरी नेपाल एक न्याय, कानून तथा मानव अधिकारको क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रशिक्षण तथा वकालत गर्दै आएको गैरसरकारी, गैरराजनीतिक एवं गैरनाफामूलक सामाजिक संस्था हो । जुरी– नेपालले मानव अधिकार तथा सार्वजनिक हित संरक्षण, प्रवद्र्धन र विकासका लागि रणनीतिक मानवअधिकार मुद्दालाई अघि बढाउँदै आएको छ । मानव अधिकारको संरक्षणका लागि जुरी– नेपालले तय गरेका विभिन्न रणनीतिहरु अन्र्तगत मानवीय मर्यादा प्रवद्र्धनको अधिकारमुखी वकालत एक हो । यसले मानव अधिकार प्रवद्र्धनका लागि मानव अधिकार संस्थाहरुसंगको जवाफदेहिता र प्रभावकारीताका क्षेत्रमा समेत वकालत र पैरवी गर्दै आएको छ ।अहिले विश्वभर फैलिएको कोरोना भाइरस कोभिड –१९ का कारण मानिसहरु संकटमा जीवन व्यतित गरिरहेका छन् । विशेषगरी स्वास्थ्य सेवा माथिको पहुँच, क्वारेन्टाइन मापदण्डको पालना, अनौपचारिक क्षेत्रमा कार्यरत आर्थिक रुपमा विपन्न वर्गका लागि सरकारले लक्षित गरेका राहतका कार्यक्रमहरु सबै लक्षित वर्गसम्म पुग्न नसकेका र विशेषगरी सुत्केरी, गर्भवति, दलित र अपांगता भएका व्यक्तिहरु बढी प्रभावित भएका समाचारहरु बारम्बार सार्वजनिक भइरहेका छन् ।हामी सबैलाई थाहा छ सरकारले विभिन्न समयमा जारी गरेका निर्देशिका तथा मापदण्डहरु सरकारको विभिन्न निकायमा बस्ने पदाधिकारी, अगुवा नागरिक र पत्रकार बाहेक अन्य सर्वसाधारणका लागि प्रकाशन गरी वितरण गर्ने प्रचलन छैन । विभिन्न मन्त्रालयको वेभसाइटमा छरिएर रहेका ती सूचनाहरुमा सबैको पहुँच नहुनुका साथै विभिन्न निकायको वेभसाइटमा राखिएका त्यस्ता मापदण्डहरु अहिलेसम्म एकीकृत गरी सूचना सम्प्रेषण हुन सकेको छैन । जसले गर्दा यसको पालनाका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउनका लागि समेत एकीकृत श्रोत सामाग्रीको महत्वपूर्ण भूमिका हुन्छ ।त्यसैले केही महत्वपूर्ण मापदण्ड तथा कार्ययोजनाहरुलाई एकीकृतरुपमा तयार गरी यस क्षेत्रमा वकालत गर्ने अभियन्ताहरुमार्फत सर्वसाधारण नागरिकको सूचनासम्मको पहुँचमा केहीमात्रामा भएपनि सहयोग पुर्याउने उद्देश्यले न्याय तथा अधिकार संस्था नेपालले विभिन्न सञ्जाल तथा सस्थाको सहकार्यमा कोभिड – १९ सम्वन्धी श्रोत पुस्तिका तयार गरी उपलव्ध गराएकोे छ।
यो पुस्तिका कसका लागि उपयोगी ?
यो पुस्तिका कोभिड–१९ को अभियानका खटिने सार्वजनिक निकायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारण नागरिक सबैका लागि तयार गरिएको देखिन्छ । सरकारले समयमै यस्ता मापदण्ड तथा निर्देशिकाहरु एकीकृत रुपमा संकलन गरी प्रकाशन गर्नुका साथै स्थानीय तहका सर्वसाधारणसम्म यसको सूचनाको पहुँचमा सबैलाई राख्नुपर्नेमा त्यस्तो सूचनाबाट अधिकांश नागरिकहरु वञ्चित भएको र सेवा दिने निकायमा बसेका व्यक्तिले जे उपलब्ध गरायो त्यही नै सेवा हो भन्ने अनुमान अधिकांश सर्वसाधारणमा रहेकोले यस पुस्तकले यसलाई चिर्न सहयोग गर्ने देखिन्छ ।। सही सूचना माथिको पहुँचको अभावलाई परिपूर्ति गर्न केही मात्रामा भए पनि सहयोग पुग्ने ठानेर जुरीले सरकारले जारी गरेका त्यस्ता निर्देशिका, मापदण्ड तथा कार्ययोजनाहरुका केही महत्वपूर्ण प्रावधानहरुलाई सरलीकृत गरी प्रश्न–उत्तरको माध्यमबाट सर्वसाधारणलाई सुसूचित गर्ने उद्देश्यले यो पुस्तिका प्रकाशनको जमर्को गरेका देखिन्छ । यसबाट सरकारी सेवा प्रदायक, सामाजिक अभियन्ता, कोभिड–१९ को जोखिममा परेका व्यक्ति तथा राहत र संरक्षणका लागि तोकिएका सर्वसाधारण नागरिकहरु र त्यसमा पनि विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला तथा सामाजिक अभियन्ताहरुका लागि समेत यो पुस्तिका उपयोगी हुने देखिन्छ ।
यसमा के के विषयहरु समेटिएका छन ?
यस पुस्तिकामा संक्रामक ऐनका अतिरिक्त सरकारको तर्फबाट जारी भएका कोरोना भाइरसको संक्रमणको उपचारका लागि अवलम्बन गर्नुपर्ने उपचार पद्धति तथा कोभिड–१९ का कारण सिर्जित संकटको अवस्थामा लक्षित व्यक्तिहरुका लागि सरकारले जारी गरेका विभिन्न राहत तथा सहुलियतका योजना तथा सरकारको तर्फबाट विशेष संरक्षणको खाँचो रहेका विशेषगरी अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, महिला, दलित र आर्थिक रुपमा विपन्न नागरिकहरुको पहुँचमा उक्त राहत र संरक्षणका कार्यक्रमहरु के कसरी लक्षित गरिएको छ भन्ने विषयलाई सरल भाषामा प्रश्नोत्तरको माध्यमबाट बुझाउने प्रयत्न गरिएको छ । कोभिडले निम्त्याएको संकटको व्यवस्थापनका सम्बन्धमा यससँग सम्बन्धित विभिन्न निर्देशिका, मापदण्ड तथा कार्ययोजनाहरुलाई एउटै दस्तावेजमा समावेश गरिएकोले यसको अध्ययन गर्ने र यसको सेवा प्रवाहमा खटिने, सेवा लिने र पारदर्शी र जवाफदेही पूर्ण तरिकाले सेवा प्रवाहका लागि सहयोग र वकालत गर्ने सबैलाई सहयोग पुग्ने तरिकाले विषयहरु समावेश गरिएको छ । यस पुस्तिकाले अहिलेको परिस्थितिमा व्यक्तिले भोग्नु परेका समस्याहरुको सम्बोधनको लागि राज्यका निकायहरुमध्ये कसको दायित्व के हुने, सेवाग्राहीहरु कुन कानुनका आधारमा सेवा लिन वा दाबी गर्न कहाँ जाने ? नागरिकका अधिकार र कर्तव्यहरु के हुन् जस्ता विषयहरुलाई सरलरूपमा पस्कने प्रयास गरेको देखिन्छ ।समग्रमा यस स्रोत पुस्तिकाले हाल देशमा विद्यमान महामारीद्धारा सिर्जना भएको समस्या समाधानमा सूचनाको पहुँच पु¥याउने र रोकथामका उपाय अवलम्बन गर्न आम नागरिकहरुलाई सूचना मार्फत सुसुचित गर्ने मुल उद्देश्य राखेको देखिन्छ । सरल भाषा र सुसंगठीत रुपमा प्रस्तुत यस स्रोत पुस्तक सबै पहुँच विहिनहरुका लागि उपयोगी हुने र यस महामारीमा महत्वपूर्ण हुने देखिन्छ ।

स्रोत संकलन :कमल बहादुर बसेल, मानव अधिकारकर्मी तथा सामाजिक अभियान्ता हुन् ।